काठमाडौँ — वैकल्पिक राजनीतिका तीन प्रमुख धार एकै ठाउँमा आइपुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको औपचारिक सहमति भएको छ । अब यी सबै समूह एउटै पार्टी, एउटै झन्डा र एउटै चुनाव चिह्नबाट आगामी निर्वाचनमा सहभागी हुनेछन् ।
रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा मेयर बालेन्द्र शाह साक्षी बनेका छन् भने हस्ताक्षर कार्यक्रममा कुलमान घिसिङ पनि उपस्थित थिए । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहने र हालको झन्डा तथा चुनाव चिह्न प्रयोग हुने सहमतिपत्रमा उल्लेख छ ।
सहमति अनुसार रवि लामिछाने पार्टी सभापति रहनेछन् । उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ । उज्यालो नेपाल अभियानमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञलाई पार्टीको संगठनात्मक संरचनामा समुचित रूपमा समायोजन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकता दिने सहमति भएको छ ।
सहमतिपत्रमा स्पष्ट रूपमा उल्लेख नगरिए पनि केन्द्रीय समिति र आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुलमान पक्षलाई करिब १७ प्रतिशत सहभागिता दिने समझदारी बनेको नेताहरूले बताएका छन् । सोही आधारमा कुलमान पक्षबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ १८ जनाको उम्मेदवार सूची तयार गरिएको छ । प्रत्यक्ष निर्वाचनतर्फको टिकट बाँडफाँट पनि लगभग सोही अनुपातमा हुने बताइएको छ ।
यसअघि शक्ति बाँडफाँटका विषयमा सहमति नजुट्दा रवि, बालेन्द्र र कुलमानबीच पटक–पटक भएका छलफल निष्कर्षविहीन बनेका थिए । अन्तिम चरणमा जेन–जी आन्दोलनका अगुवाहरूको सक्रिय पहलपछि भने संवादले सकारात्मक मोड लियो । ‘द काउन्सिल अफ जेन–जी’ का सुधन गुरुङ, जेम्स कार्की र ओजस्वी थापाले तीन नेताबीच पुनः संवाद गराउन निर्णायक भूमिका खेलेका थिए ।
सोमबार दिउँसो कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको छलफलपछि अन्ततः सहमति जुटेको हो । उज्यालो नेपाल पार्टीका नेताहरूले जेन–जी अभियन्ताहरूको पहललाई एकताको महत्वपूर्ण कडीका रूपमा लिएका छन् ।
एकतापछि मेयर बालेन्द्र शाहले जेन–जी आन्दोलनको भावनाअनुसार समाधान खोज्ने प्रयास गरिएको बताएका छन् । जेन–जी पक्षले भने यो सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै रास्वपाका शीर्ष नेताहरूसँग आन्दोलनको ‘म्यान्डेट’ पालना गर्ने गरी छुट्टै लिखित समझदारी गर्ने तयारी गरिरहेको छ । नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार जेन–जीलाई उम्मेदवार बनाउने, पार्टी संरचनामा समावेश गर्ने लगायतका विषय सुनिश्चित गर्न वार्ता टोली बनाएर छलफल अघि बढाइनेछ ।
रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको भावना र बलिदानलाई गम्भीरतापूर्वक आत्मसात गरिएको बताएका छन् । आन्दोलनका क्रममा घाइते र सहिद भएका युवाहरूको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिलाई अझ बलियो बनाउने संकल्प दोहोर्याएका छन् ।
यस एकतासँगै नेपाली राजनीतिमा वैकल्पिक धारको शक्ति सुदृढ हुने अपेक्षा गरिएको छ ।




