३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज बिहान भेटवार्ता गरेका छन्।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच भएको वार्ता सहमतिविनै टुंगिएपछि सभापति देउवाले दुई महामन्त्रीलाई छलफलका लागि बोलाएको देउवा निकट स्रोतले जनाएको छ। यसअघि दुवै पक्षका वार्ता टोलीबीच भएको संवाद पनि निष्कर्षमा पुग्न सकेको थिएन।
विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेका छन्। रातभर विभिन्न चरणमा भएका वार्ता पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएपछि असफल भएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार, संस्थापन पक्षले अन्तिम प्रयासस्वरूप अझै पनि वार्ता गरिरहेको भए पनि निर्वाचन तालिका यथावत् रहनेछ।
उनले भने, “हाम्रो निर्वाचन कार्यक्रम यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको भन्ने जानकारी आएको छ। त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रम अनुसार निर्वाचन अघि बढ्छ।”
यसअघि मंगलबार साँझ विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारिएको थियो।
कांग्रेसभित्र जारी शक्ति संघर्षले पार्टीको भावी नेतृत्व र नीतिगत दिशालाई निर्णायक मोडमा पुर्याएको छ, जहाँ सहमति वा निर्वाचनमध्ये कुनै एक बाटो आजै स्पष्ट हुने संकेत देखिएको छ।




