आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आजदेखि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन आगामी ६ माघमा हुने तयारीसँगै आयोगले सम्बन्धित निर्वाचन क्षेत्रहरूमा कार्यालय खोली कर्मचारी खटाउने प्रक्रिया अघि बढाएको हो। आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

आयोगले यसअघि नै प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आ–आफ्नो निर्वाचन क्षेत्रको जिम्मेवारी तोकिएको छ।

जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतका रूपमा तोकिएको छ भने न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरू निर्वाचन अधिकृतको भूमिकामा रहनेछन्। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य तथा अन्य निर्वाचन अधिकृतहरूको नाम टुंगो लगाएको हो।

निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै उम्मेदवारी मनोनयन, निर्वाचन तयारी तथा व्यवस्थापनसम्बन्धी कामहरू अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर