नेपाली कांग्रेसको राजनीतिमा नयाँ युगको सुरुआत भएको छ। विशेष महाधिवेशनबाट चयन भएको गगन थापाको नेतृत्वमा रहेको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएसँगै पार्टीमा पुस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा स्थापित भएको छ।
२७–३० पुसमा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको सहभागितामा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। आयोगले शुक्रबार संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली तथा कांग्रेसको विधानअनुसार उक्त महाधिवेशन र त्यसबाट भएका निर्णयहरू विधिसम्मत रहेको ठहर गरेको हो।
आयोगको निर्णयसँगै लामो समयदेखि ज्येष्ठ नेताहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको कांग्रेसमा अब नयाँ पुस्ताको नेतृत्व स्थापित भएको छ। ४९ वर्षे थापा कांग्रेसको इतिहासमै सबैभन्दा कम उमेरका सभापतिमध्ये एक बनेका छन्। यसअघि देउवा, सुशील कोइराला र गिरिजाप्रसाद कोइराला नेतृत्वमा आउँदा उमेरको हिसाबले पार्टी नेतृत्व वृद्ध पुस्तामै सीमित थियो।
निर्वाचन आयोगले विशेष महाधिवेशन विधानअनुसार नै आह्वान गरिएको, प्रतिनिधिहरूको बहुमतले माग गरेको र महामन्त्रीद्वयले विधानअनुसार महाधिवेशन बोलाएको निष्कर्ष निकालेको छ। आयोगको निर्णयमा महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेको निर्णयलाई अस्वीकार गर्न नमिल्ने स्पष्ट उल्लेख छ।
आयोगको ११५ औं बैठकले बहुमतका आधारमा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर जबराको समर्थनमा निर्णय पारित भएको हो भने आयुक्त जानकीकुमारी तुलाधरले असहमति जनाएकी छन्।
यस निर्णयसँगै गगन थापा सभापति, विश्वप्रकाश शर्मा उपसभापति, पुष्पा भुसाल उपसभापति तथा गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री रहेको कार्यसमिति कांग्रेसको आधिकारिक नेतृत्वका रूपमा दर्ता भएको छ।
निर्णयपछि देउवा पक्ष असन्तुष्ट देखिएको छ र सर्वोच्च अदालत जाने तयारीसमेत गरेको जनाएको छ। तर सोही पक्षका नेता रामहरि खतिवडाले भने आयोगको निर्णय स्वीकार गर्दै कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यसैबीच, सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासहित सबै नेता–कार्यकर्तालाई समेटेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले पार्टी विभाजन होइन, पुनर्जागरणको बाटो रोजिएको भन्दै लोकतान्त्रिक मूल्य र विधानको सम्मानमै कांग्रेस अघि बढ्ने स्पष्ट पारेका छन्।
विशेष महाधिवेशन र आयोगको निर्णयसँगै नेपाली कांग्रेस अब नयाँ नेतृत्व, नयाँ ऊर्जा र नयाँ राजनीतिक यात्रातर्फ अग्रसर भएको सन्देश देशभर गएको छ।




