काठमाडौं, १७ माघ — नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बैठकले गरेको यो समायोजन आज मध्यरात १२ बजेदेखि लागू हुने जनाएको छ।
नयाँ दरअनुसार पहिलो वर्गमा पर्ने क्षेत्रहरूमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो वर्गका क्षेत्रमा १३८ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा १३९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश छन्।
निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। हवाई इन्धनतर्फ भने आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलोलिटर ७ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।
निगमले बजार अवस्था र आपूर्ति व्यवस्थालाई ध्यानमा राख्दै समय–समयमा मूल्य समायोजन गरिने पनि उल्लेख गरेको छ।




