९ माघ, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका क्रममा आज जापान पुग्नुभएको छ। उहाँलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभयो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापानतर्फ प्रस्थान गर्नुभएको हो। यो भ्रमण नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा विशेष महत्वका साथ हेरिएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। साथै उहाँले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा राष्ट्रपतिले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्नुका साथै जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध १ सेप्टेम्बर १९५६ मा स्थापना भएको थियो। त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका हुन्।
राष्ट्रपति पौडेल चारदिने भ्रमण सम्पन्न गरी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।




