काठमाडौं, २१ माघ। स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याबारे प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। सोही विषयमा आवश्यक छलफल गर्न प्रधानमन्त्रीले बुधबार सरोकारवाला निकायहरूको बैठक बोलाएकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था, सेवा प्रवाहमा देखिएका अवरोध र समाधानका उपायबारे छलफल हुने जनाइएको छ।
रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा उपयोग गर्न नसकेको गुनासो बढ्दै गएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले मात्रै बीमा बोर्डले अस्पताललाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाउँदै स्वास्थ्य बीमा सेवा दिन नसक्ने सूचना जारी गरिसकेको छ। यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेको छ।
यसैबीच, स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गर्दै सेवा सीमित गर्ने निर्णय गरेको छ। बोर्डका अनुसार एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइनेछ। सो सीमा नाघेपछि मात्रै अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारको सुविधा लागू हुने बताइएको छ। उक्त व्यवस्था १ फागुनदेखि कार्यान्वयनमा आउने बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता, सेवा निरन्तरता र वित्तीय व्यवस्थापनबारे बैठकमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।




