प्रदूषण र मौसमको प्रभावले धुम्मियो काठमाडौंको आकाश

काठमाडौं, २५ फागुन — पछिल्ला दुई–तीन दिनदेखि काठमाडौं उपत्यकाको आकाश धुम्म देखिएको छ। वातावरण धमिलो हुँदा घाम राम्रोसँग लाग्न सकेको छैन। कतिपय स्थानमा सिमसिमे वर्षा भए पनि ठूलो वर्षा नहुँदा प्रदूषण घट्न सकेको छैन।

यस अवस्थाले दैनिक जनजीवनमा आंशिक असर पारिरहेको छ। दृश्य क्षमता कम हुँदा सडक यातायात र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ। हावामा धुलो र धुवाँको मात्रा बढ्दा सर्वसाधारणले आँखा पोल्ने तथा श्वासप्रश्वासमा असहजता महसुस गरिरहेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस्तो अवस्था देखिनुमा प्रदूषण र मौसम दुवै कारण जिम्मेवार छन्। मौसमविद् रोजन लामिछानेका अनुसार लामो समयदेखि वर्षा नहुनु, देशका विभिन्न भागमा लागेको डढेलो, सवारीसाधनबाट निस्कने धुलो–धुवाँ लगायतका कारण प्रदूषण उपत्यकामा प्रवेश गरेर अड्किएको छ।

उनका अनुसार यो प्रदूषण हटाउन प्रशस्त वर्षा वा बलियो हावा चल्नु आवश्यक हुन्छ। तर हालसम्म न पर्याप्त वर्षा भएको छ, न त तीव्र हावा चलेको छ।

स्विट्जरल्यान्डको एयर क्वालिटी इन्डेक्स (AQI) का अनुसार काठमाडौं अहिले विश्वका सबैभन्दा बढी प्रदूषित सहरमध्ये पहिलो स्थानमा पुगेको छ। यहाँको वायु गुणस्तर सूचकांक (AQI) १७९ पुगेको छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण स्तर मानिन्छ। भारतको कोलकाता १७३ AQI सहित दोस्रो र पाकिस्तानको लाहोर १६६ AQI सहित तेस्रो स्थानमा छन्।

मौसमविद्हरूका अनुसार तल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण देशका केही क्षेत्रमा वर्षा हुने सम्भावना भए पनि उपत्यकामा मौसम पर्याप्त सक्रिय हुन सकेको छैन। माथिल्लो वायुमण्डलमा उच्च तापीय प्रणालीको आंशिक प्रभावले बादल जमेर बसेको छ, जसले गर्दा आकाश धमिलो देखिएको हो।

जल तथा मौसम विभागले यो अवस्था अझै केही दिन कायम रहन सक्ने जनाएको छ।

यसैबीच वातावरण विभागले काठमाडौं, पोखरालगायत ठूला सहर तथा तराईका अधिकांश क्षेत्रमा प्रदूषण बढेको जनाएको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरू बढी प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य विज्ञहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बाहिर जानै परे गुणस्तरीय मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर