प्रतिनिधि सभा निर्वाचन परिणाम सार्वजनिक: राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल, दुई तिहाइ बहुमत नजिक

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ १२५ सिट जित्दै स्पष्ट रूपमा सबैभन्दा ठूलो दल बनेको छ। समानुपातिकतर्फ हालसम्मको मतगणनाको आधारमा रास्वपाले करिब ५८ सिट प्राप्त गर्ने देखिएको छ। यस हिसाबले उसको कुल सिट संख्या १८३ पुग्ने अनुमान गरिएको छ, जुन दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा एक सिटले कम हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ। समानुपातिकतर्फ उसले करिब १९ सिट प्राप्त गर्ने देखिएकाले कुल ३७ सिटसहित संसदमा दोस्रो ठूलो दल बन्ने देखिएको छ।

नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्मको मतगणनाका आधारमा करिब १६ सिट पाउने देखिन्छ। यसरी आगामी प्रतिनिधि सभामा एमालेको कुल २५ सिट हुने अनुमान गरिएको छ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट जितेको छ। समानुपातिकतर्फ उसले करिब ९ सिट प्राप्त गर्ने देखिएकाले संसदमा उसको कुल प्रतिनिधित्व १७ सिट हुने देखिएको छ।

नबोदित श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ। समानुपातिकतर्फ आवश्यक तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेकाले उसले थप ४ सिट प्राप्त गर्ने देखिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ १ सिट जितेको छ। समानुपातिक मतका आधारमा उसले पनि थप ४ सिट प्राप्त गर्ने देखिएको छ।

यस निर्वाचन परिणामले आगामी संसदमा शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने संकेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर