काठमाडौं, २७ फागुन । हाल देशभर पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्र तथा केही उपत्यकामा आज तुवाँलो लाग्ने सम्भावना रहेको छ। त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा बदली रहने अनुमान गरिएको छ।
महाशाखाले दिएको जानकारीअनुसार हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




