काठमाडौं, २८ फागुन – काठमाडौं उपत्यकाको वायु गुणस्तरमा अझै उल्लेखनीय सुधार हुन सकेको छैन। पछिल्ला केही दिनदेखि अत्यधिक प्रदूषणको चपेटामा रहेको राजधानी आज पनि ‘अस्वस्थ’ तहको वायु प्रदूषणमा रहेको छ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयर (IQAir) का अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १८५ पुगेको छ। १५० भन्दा माथिको एक्यूआईलाई नै अस्वस्थ मानिने भएकाले हालको अवस्था स्वास्थ्यका लागि चिन्ताजनक मानिएको छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांक अनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘संवेदनशील समूहका लागि अस्वस्थ’, १५१–२०० ‘अस्वस्थ’, २०१–३०० ‘निकै अस्वस्थ’ र ३०१ भन्दा माथि पुगेमा ‘खतरनाक’ तह मानिन्छ।
हालको अवस्थाअनुसार काठमाडौं विश्वका सबैभन्दा अस्वस्थ सहरहरूको सूचीमा छैटौँ स्थानमा रहेको छ। सूचीको पहिलो स्थानमा उज्वेकिस्तानको एक सहर, दोस्रोमा भियतनाम, तेस्रोमा पाकिस्तानको लाहोर, चौथोमा भारतको दिल्ली र पाँचौँ स्थानमा भारतकै कोलकाता रहेका छन्।
यसअघि उच्च स्थानमा रहेको बंगलादेशको ढाका भने अहिले दशौँ स्थानमा झरेको छ।
वायु प्रदूषण बढेसँगै सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। विशेष गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न सुझाव दिइएको छ।




