काठमाडौं, २ चैत । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य रूपमा बढेको छ भने चाँदीको भाउ भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यद्यपि, पछिल्लो करिब डेढ महिनाको अवधिमा सुनको भाउ भने उल्लेख्य रूपमा घटेको छ। गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो। त्यसपछि सुनको मूल्य तोलामा करिब ३० हजार रुपैयाँले घटेको देखिन्छ।
त्यस्तै, चाँदीको भाउ सोमबार तोलामा ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसअघि गत माघ १५ गते चाँदीको भाउ प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ।




