पश्चिम बंगाल निर्वाचनपछि हिंसा चर्कियो : चार जनाको मृत्यु, राजनीतिक तनाव बढ्दो

भारतको पश्चिम बंगाल राज्यमा प्रदेश सभाको निर्वाचन परिणाम सार्वजनिक भएपछि हिंसा चर्किएको छ। घटनामा कम्तीमा चार जनाको ज्यान गएको जनाइएको छ। प्रहरी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूका अनुसार निर्वाचन परिणामपछि राज्यका विभिन्न स्थानमा दलका समर्थकबीच झडप भएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले पहिलोपटक पश्चिम बंगालमा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक विजय दर्ता गरेको छ। सार्वजनिक परिणामअनुसार २९४ सदस्यीय प्रदेश सभामध्ये उक्त दलले २०६ स्थानमा विजय प्राप्त गरेको छ।

पश्चिम बंगालमा सन् २०११ देखि मुख्यमन्त्री रहेकी ममता बनर्जीको नेतृत्वमा रहेको अखिल भारतीय तृणमूल कांग्रेस यसअघि सत्तामा थियो। तर यसपटक ममता बनर्जी स्वयं आफ्नो निर्वाचन क्षेत्रमा पराजित भएकी छन्। उनले निर्वाचन परिणाम स्वीकार नगर्दै केन्द्र सरकारले निर्वाचनमा धाँधली गरेको आरोप लगाएकी छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै राजधानी कोलकाता तथा अन्य जिल्लाहरूमा विभिन्न दलका समर्थकबीच झडप भएको प्रहरीले जनाएको छ। भारतीय जनता पार्टीले आफ्ना दुई कार्यकर्ताको हत्या भएको दाबी गरेको छ भने तृणमूल कांग्रेसले पनि आफ्ना दुई कार्यकर्तालाई कुटपिट गरेर मारिएको जनाएको छ।

दुवै दलले एकअर्कामाथि आफ्ना पार्टी कार्यालयमा आक्रमण तथा तोडफोड गरेको आरोप लगाएका छन्। कोलकाताका केही क्षेत्रमा सार्वजनिक सम्पत्तिमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। हिंसाका क्रममा एक प्रहरी अधिकारीको खुट्टामा गोली लागेको जानकारी पनि सार्वजनिक भएको छ।

मुख्यमन्त्री ममता बनर्जीले तत्काल पदबाट राजीनामा नदिने बताएकी छन्। उनले भारतीय जनता पार्टीको विजयलाई “अनैतिक विजय” भन्दै सयभन्दा बढी स्थान कब्जा गरिएको आरोप लगाएकी छन्।

भारतीय संविधानअनुसार राज्य प्रमुखले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्न सक्ने वा कार्यकाल समाप्त हुने समयसम्म पर्खन सक्ने व्यवस्था रहेको छ। ममता बनर्जीको कार्यकाल बिहीबार समाप्त हुँदैछ। त्यसपछि नव निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण तथा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।

यता भारतको निर्वाचन आयोगले निर्वाचनपछिको हिंसाप्रति गम्भीर चासो व्यक्त गर्दै राज्य प्रशासनलाई कुनै पनि प्रकारको हिंसा, प्रतिशोध वा डर–त्रास हुन नदिन कडा सुरक्षा व्यवस्था अपनाउन निर्देशन दिएको छ।

विश्लेषकहरूले पश्चिम बंगालमा भारतीय जनता पार्टीको विजयलाई प्रधानमन्त्री मोदी सत्तामा आएपछि प्राप्त सबैभन्दा महत्वपूर्ण राजनीतिक सफलतामध्ये एक मानेका छन्। यसले उत्तर तथा मध्य भारतबाहिर पनि उक्त दलको प्रभाव विस्तार भएको संकेत गरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर