काठमाडौँ । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ।
यस्तै, तराईका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति भने कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै मधेस प्रदेश र अन्य पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




