२५ वैशाख, काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि तीव्र बनेको छ । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुनः बमबारी गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, ओमानको खाडीतर्फ गइरहेका अमेरिकी नौसैनिक जहाजमाथि इरानले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको हो । अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्ना जहाज सुरक्षित राख्न सैन्य गतिविधि बढाएको जनाएको छ ।
उता इरानले भने अमेरिकी पक्षले पहिले एक इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानको सरकारी सञ्चार संस्था आईआरआईबीका अनुसार, अमेरिकाले युद्धविराम तोड्दै तेल ट्यांकरलाई निशाना बनाएपछि इरानी सेनाले प्रतिआक्रमण गरेको हो । इरानले आफ्ना कारबाहीबाट अमेरिकी पक्षलाई ठूलो क्षति पुगेको दाबी समेत गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने संकेत दिएका थिए । तर पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव अझ बढाएको छ । बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको र युद्धविराम अझै कायम रहेको बताएका छन् ।
ट्रम्पले इरानलाई परमाणु हतियार राख्न नदिने अमेरिकी अडान दोहोर्याउँदै सम्झौता नभए इरानले “ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी पनि दिएका छन् ।
दुई देशबीच पाकिस्तानमा भएका उच्चस्तरीय वार्तापछि केही समय आक्रमण रोकिएको भनिए पनि ताजा सैन्य गतिविधिले शान्ति प्रयास संकटमा परेको देखिएको छ ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक हो । यहाँ तनाव बढ्दा विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुने र पेट्रोलियम पदार्थको मूल्य बढ्ने चिन्ता बढेको छ ।




