काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्कीबाट आएको एक यात्रुवाहक विमानको पाङ्ग्रामा अचानक आगलागी हुँदा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
इस्तानबुलबाट काठमाडौं आएको उक्त विमान अवतरण गर्ने क्रममा पाङ्ग्राबाट आगो निस्किएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । आगलागी लगत्तै विमानस्थलमा तयारी अवस्थामा रहेको दमकल परिचालन गरी आगो तत्काल नियन्त्रणमा लिइएको थियो ।
अधिकारीहरूका अनुसार विमानमा २७८ यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए । उक्त विमानमा संयुक्त राष्ट्रसंघका केही अधिकारीसमेत रहेका जनाइएको छ ।
सुरक्षा अधिकारीका अनुसार घटनापछि विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
विमानस्थल सुरक्षा प्रमुख राजकुमार सिलवालका अनुसार अवतरणका क्रममा पाङ्ग्रामा समस्या देखिएपछि आगलागी भएको हो । समयमै नियन्त्रणमा लिइएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको उनले बताए ।
घटनापछि केही समय विमानस्थलको गतिविधिमा सतर्कता अपनाइएको थियो । सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




