दुई दिनमै तोलामा ८ हजार ५ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ। पछिल्ला दुई कारोबार दिनमै सुनको भाउ प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार मात्रै सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको हो।

यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार भने सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी शुक्रबार र आइतबार गरी दुई दिनमै सुनको मूल्य कुल ८ हजार ५ सय रुपैयाँले घटेको देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला ५ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर