लिग–२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै, ग्लोबल क्वालिफायरको आशा जोगाउने चुनौती

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी जारी त्रिदेशीय शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भएका छन् । स्कटल्याण्डले खेलेका दुवै खेल जित्दै उत्कृष्ट सुरुआत गरेको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ–लुइस (डीएलएस) नियमका आधारमा दुई रनले हराएको थियो । त्यसपछि अमेरिकाविरुद्ध पनि स्कटल्याण्डले डीएलएसकै आधारमा दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

यता नेपालले भने तेस्रो खेलमा अमेरिकामाथि शानदार प्रदर्शन गर्दै नौ विकेटको सहज जित दर्ता गरेको थियो । शनिबार भएको उक्त खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै पक्ष प्रभावशाली देखिएको थियो ।

आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई अब बाँकी खेलहरूमा लगातार राम्रो नतिजा आवश्यक छ । साथै एकदिवसीय मान्यता जोगाउन पनि नेपाल शीर्ष ६ भित्र रहनुपर्ने दबाबमा छ ।

हाल लिग–२ को अंक तालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौँ स्थानमा रहेको छ । नेपालले हालसम्म ९ खेल जितेको, १५ खेल गुमाएको तथा दुई खेल अनिर्णित खेलेको छ । यता स्कटल्याण्ड भने ३० खेलबाट ३८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा मजबुत अवस्थामा छ ।

प्रतिक्रिया
सम्बन्धित खबर