ट्रम्पपछि रुसी राष्ट्रपति पुटिन चीनमा, सी चिनफिङसँग उच्चस्तरीय वार्ता हुँदै

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। चीनको राजधानी बेइजिङमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

यो भ्रमण चालु वर्षमा पुटिनको पहिलो वैदेशिक भ्रमण हो। बदलिँदो विश्व परिस्थिति र शक्ति सन्तुलनबीच चीनको बढ्दो प्रभावलाई यस भ्रमणले थप स्पष्ट पारेको विश्लेषण गरिएको छ।

पश्चिमा मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्धका बाबजुद चीन अहिले रुसी खनिज तेलको सबैभन्दा ठूलो खरिदकर्ता तथा रुसको प्रमुख आर्थिक सहयात्री बनेको छ। यही सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले पुटिनको भ्रमणलाई महत्वपूर्ण मानिएको छ।

वार्ताका क्रममा नयाँ प्राकृतिक ग्यास वहन मार्ग निर्माणबारे विशेष छलफल हुने अपेक्षा गरिएको छ। उक्त योजनामार्फत प्रत्येक वर्ष करिब ५० अर्ब घनमिटर प्राकृतिक ग्यास चीन पुर्‍याउने लक्ष्य राखिएको छ।

पछिल्ला महिनाहरूमा व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले विश्वका विभिन्न राष्ट्रका नेताहरू चीन भ्रमणमा गइरहेका छन्। पुटिनको यो भ्रमणलाई पनि त्यही कूटनीतिक तथा आर्थिक सक्रियताको निरन्तरताका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर