दानबहादुर कार्कीको पुनर्बहाली मागमा सर्वोच्चको अन्तरिम आदेश अस्वीकार

काठमाडौँ, १० मङ्सिर २०८३।

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै कार्कीको मागबमोजिम तत्काल पुनर्बहालीको आदेश दिन आवश्यक नरहेको ठहर गरेको हो।

सर्वोच्चको आदेशसँगै प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले हाललाई आफ्नो जिम्मेवारी निरन्तर सम्हाल्ने भएका छन्। अदालतले केसीले नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको र प्रहरी संगठनको नेतृत्व तथा राज्यको शान्ति सुरक्षासँग जोडिएको विषय संवेदनशील रहेको आधार प्रस्तुत गरेको छ।

यद्यपि, अदालतले कार्कीको रिटलाई प्राथमिकतामा राख्दै शीघ्र सुनुवाइ गर्न आदेश दिएको छ। विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको अवधि समाप्त भएपछि सात दिनभित्र मुद्दाको पेसी तोक्नसमेत निर्देशन दिइएको छ।

यससँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवादको अन्तिम निरूपण भने सर्वोच्च अदालतको आगामी सुनुवाइबाट हुने भएको छ। अन्तरिम आदेश अस्वीकार हुनु र रिट खारेज हुनु फरक कानुनी प्रक्रिया भएकाले मुद्दाको अन्तिम फैसला आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित खबर