काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक सातामै उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ।
अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार एकैदिन ३ हजार ३ सय रुपैयाँले घटेको हो। गत बुधबार भने सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै एक साताको अवधिमा सुनको मूल्य कुल १० हजार २ सय रुपैयाँले घटेको देखिएको छ।
यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १२५ रुपैयाँले कम हो। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँ थियो।
गत बुधबार चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा कारोबार भएकोमा एक सातामै ७५० रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ।




