तीन मौसमी प्रणाली सक्रिय : आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यी तीन मौसमी प्रणाली सक्रिय हुँदा आज देशका विभिन्न प्रदेशमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली देखिएको छ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ। यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसोको मौसम

आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने सम्भावना छ। मधेस प्रदेशका केही क्षेत्र तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। साथै मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती–गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी क्षेत्रमा गर्मी बढ्ने र तातो दिनको अनुभव हुने सम्भावना रहेको छ।

रातिको मौसम

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ। मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर