कोशीदेखि गण्डकीसम्म झरीको प्रभाव, पश्चिम तराईमा बढ्दो गर्मी र तातो हावाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी भेगका विभिन्न क्षेत्रमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। मौसमविदका अनुसार आज दिनभर पानी पर्ने र रोकिने क्रम जारी रहने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्मका भूभागमा हिजोदेखि नै वर्षा भइरहेको हो। पूर्वी नेपालमा भारत नजिक विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण पानी परिरहेको छ भने काठमाडौं उपत्यका, नुवाकोट र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा स्थानीय वायु प्रणाली सक्रिय हुँदा वर्षा भएको उनले बताए।

उनका अनुसार काठमाडौं आसपास बनेको वर्षा गराउने बादल पूर्वतर्फ सरिरहेको छ। त्यसैले केही घण्टाभित्र काठमाडौं उपत्यकामा पानी रोकिने सम्भावना रहे पनि अपराह्नपछि पुनः वर्षा हुन सक्ने अनुमान गरिएको छ।

गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा बढी ८१ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिम नेपालमा अत्यधिक गर्मी

पूर्वी तथा मध्य क्षेत्रमा वर्षाका कारण मौसम केही शीतल बनेको भए पनि पश्चिम नेपालमा भने अत्यधिक गर्मी बढ्दै गएको छ। विशेषगरी दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले जनजीवन प्रभावित बनाएको छ।

मौसमविदका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर