ढाका । बङ्गलादेशमा फैलिएको दादुराको महामारीले गम्भीर रूप लिँदा ५ सयभन्दा बढी बालबालिकाको ज्यान गएको छ । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ बालबालिकाको मृत्यु भएको छ भने मार्च १५ यता कुल मृतक सङ्ख्या ५१२ पुगेको छ । यो पछिल्ला दशकहरूकै सबैभन्दा घातक दादुरा प्रकोप मानिएको छ ।
राजधानी ढाकासहित देशका विभिन्न अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेको छ । विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष (आईसीयू) मा पर्याप्त शय्या उपलब्ध नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जुन खोकी र हाछ्युँमार्फत एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । यसको विशेष उपचार नभए पनि समयमै उपचार र उचित हेरचाह गरेमा धेरै बिरामी निको हुन सक्छन् । तर कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता देखिन सक्छन् ।
१७ करोड ५० लाख जनसङ्ख्या रहेको बङ्गलादेशले महामारी नियन्त्रणका लागि देशव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की बङ्गलादेश प्रमुख राना फ्लावर्सका अनुसार हालसम्म १ करोड ८० लाख बालबालिकासम्म खोप अभियान पुगेको छ ।
यद्यपि स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ । युनिसेफले सन् २०२४ मा भएको विद्यार्थी आन्दोलन र त्यसपछिको अव्यवस्थाका कारण नियमित खोप कार्यक्रम प्रभावित हुँदा धेरै बालबालिका खोपबाट वञ्चित भएको उल्लेख गरेको छ ।
स्वास्थ्य विभागले केही बढी प्रभावित क्षेत्रमा सङ्क्रमण घट्न थालेको दाबी गरे पनि मृत्यु दर भने अझै बढिरहेको छ । हाल देखिएका अधिकांश सङ्क्रमित छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।
ढाकास्थित शहीद सुहरावर्दी मेडिकल कलेज तथा अस्पतालका बालरोग विशेषज्ञ डा. ऐनुल इस्लाम खानका अनुसार अस्पतालमा ल्याइएका धेरै बालबालिका गम्भीर अवस्थामा थिए । उनका अनुसार धेरैमा श्वासप्रश्वासमा समस्या, आँखा, घाँटी र फोक्सोमा सङ्क्रमण देखिएको थियो ।
युनिसेफले भविष्यमा यस्ता महामारी रोक्न खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य क्षेत्रमा लगानी बढाउने तथा निगरानी र तथ्याङ्क प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।
यसैबीच, ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पार्टनरसिपले खोपमा आएको कमीका कारण बङ्गलादेशमा औषधिप्रतिको प्रतिरोध क्षमता (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) अझ बढ्न सक्ने चेतावनी दिएको छ ।
(समाचार स्रोत: DAWN अखबार)




