खाडीसरह गर्मीले तराई आक्रान्त, तीन दिन अझै ‘लु’ चल्ने चेतावनी

तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन कष्टकर बनेको छ। मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म तातो हावा अर्थात् ‘लु’ चल्ने चेतावनी दिँदै सरकार र सरोकारवाला निकायलाई पूर्वतयारी गर्न आग्रह गरेको छ। बढ्दो तापक्रमका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दैनिक मजदुरी गर्ने वर्ग बढी प्रभावित भएका छन्।

महाशाखाका अनुसार आइतबारदेखि मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ भने मधेससहित तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ। केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना भए पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको जोखिम उच्च रहेको जनाइएको छ।

गर्मी छल्न नदी तथा खोलामा पौडी खेल्न जाने क्रम बढेसँगै दुर्घटनासमेत बढ्न थालेका छन्। बुटवल–पाल्पा क्षेत्रको तिनाउ नदीमा पौडी खेल्ने क्रममा चार जना भारतीय नागरिकसहित पाँच जनाले ज्यान गुमाइसकेका छन्। स्थानीय प्रहरीका अनुसार भारतका विभिन्न शहरबाट गर्मी छल्न आउने नागरिकहरू नदीको गहिराइबारे जानकारी नहुँदा दुर्घटनामा पर्ने गरेका छन्। जोखिम नियन्त्रणका लागि चेतनामूलक बोर्ड राख्ने र नदीमा पौडी खेल्न रोक लगाउने प्रयास भइरहेको जनाइएको छ।

रुपन्देही र पाल्पा प्रशासनले संयुक्त रूपमा मनसुनजन्य विपद् प्रतिकार्य योजना तयार गरी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। स्थानीय तहलाई अत्यधिक गर्मीको प्रभाव न्यूनीकरणका लागि तयारी गर्न आग्रह गरिएको छ। आवश्यकता अनुसार विद्यालय बन्द गर्ने विषयमा पनि छलफल भइरहेको प्रशासनले जनाएको छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संघीय सरकारले लागू गरेको सातामा दुई दिन बिदाको व्यवस्थाले स्थानीय तहमा कार्यसम्पादनमा चुनौती थपिएको बताएका छन्। यता, लुम्बिनी प्रादेशिक अस्पतालमा गर्मीजन्य बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

वातावरणविद् तथा स्थानीय सरोकारवालाले जलवायु परिवर्तन, वन फँडानी र जथाभावी डोजर प्रयोगका कारण खडेरी र अत्यधिक गर्मीको समस्या बढ्दै गएको बताएका छन्। उनीहरूले वन संरक्षण, वातावरणमैत्री नीति तथा विद्यालय र समुदायस्तरमा गर्मी व्यवस्थापनका विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर