सङ्घीय संसद्का दुवै सदन आज बस्दै, आर्थिक सर्वेक्षणदेखि महत्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उता, राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्नेछन्। साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन्।

यसैबीच, प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बिहान बस्ने भएको छ। बैठकमा किसानलाई रासायनिक मलको सहज र सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ।

समितिले रासायनिक मलको मौज्दात, वितरण प्रणाली तथा आगामी योजनाबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर