काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ। बुधवार सार्वजनिक गरिएको सर्वेक्षणमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले अर्थतन्त्रको विस्तारसँगै प्रदेशगत योगदानको अवस्थाबारे जानकारी दिएका हुन्।
सर्वेक्षणअनुसार नेपालको कुल अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेश को रहेको छ। बागमतीले कुल अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा ओगटेको छ। यता, सबैभन्दा कम योगदान कर्णाली प्रदेश को रहेको छ, जसको हिस्सा ४.२ प्रतिशत मात्र छ।
नेपालको अर्थतन्त्रमा उपभोगमुखी प्रवृत्ति अझै उच्च रहेको देखिएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ।
यसैगरी, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर पुगेको छ भने प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुगेको उल्लेख गरिएको छ। साथै, नेपालीहरूको प्रतिव्यक्ति खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।




