आजदेखि प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार आज सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सोह्रौँ बैठकमा सरकारद्वारा प्रस्तुत राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गरिनेछ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्रीले प्रस्ताव पेश गरेपछि सदनमा बजेटका प्राथमिकता, कार्यक्रम तथा विनियोजनका विषयमा सांसदहरूले धारणा राख्नेछन्। यससँगै आगामी आर्थिक वर्षको बजेटमाथिको संसदीय बहस औपचारिक रूपमा सुरु हुनेछ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रस्ताव प्रस्तुत भएसँगै बजेटमाथि सामान्य छलफल अगाडि बढाइनेछ। सरकारको आर्थिक नीति, विकासका प्राथमिकता तथा स्रोत व्यवस्थापनका विषयमा सांसदहरूले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर