सत्तापक्ष–विपक्षीबीच तीव्र विवादका बीच प्रतिनिधिसभा नियमावली पारित

काठमाडौँ । प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षी दलका सांसदहरूबीच चर्को विवाद, नाराबाजी र बेल घेराउका बीच आइतबार राति प्रतिनिधिसभा नियमावली पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको विरोधकै बीच नियमावली पारित भएको घोषणा गरेका हुन्।

नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि सभामुखले छलफल समाप्त भएको घोषणा गर्दै संशोधन प्रस्ताव फिर्ता लिन समय दिएका थिए। तर विपक्षी सांसद नरेन्द्रकुमार केरुङले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरेपछि सभामुखले त्यसलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

निर्णय प्रक्रियाका क्रममा सत्तापक्ष र विपक्षी सांसदहरूबीच मतभेद चर्किएको थियो। विपक्षी सांसदहरूले आफ्ना संशोधन प्रस्तावहरू विषयगत समितिमा पठाइनुपर्ने माग गर्दै विरोध जनाएका थिए। नेपाली कांग्रेसकी सचेतक वासना थापाले पनि उक्त माग दोहोर्‍याएकी थिइन्। तर सभामुखले कार्यसूचीअनुसार प्रक्रिया अगाडि बढाउने अडान लिएपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए।

यसक्रममा विपक्षी सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। एमाले सांसद ऐनबहादुर महरले बोल्न समय मागे पनि सभामुखले अनुमति नदिएको विपक्षी पक्षको गुनासो रहेको छ। लगातारको विरोधका बीच सभामुखले संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै नियमावली पारित गर्ने प्रक्रिया अघि बढाएका थिए।

बैठकका क्रममा तनाव बढ्दै जाँदा सांसद र मर्यादापालकबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। केही सांसदहरू कुर्सीमाथि उभिएर विरोध जनाइरहेका देखिएका थिए भने एक सांसदले आफू बसेको कुर्सीसमेत उठाएका थिए। यसले प्रतिनिधिसभाको बैठक असामान्य र तनावपूर्ण बनेको थियो।

प्रतिनिधिसभा नियमावली मस्यौदामाथि कुल ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको संयोजकत्वमा १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो।

उक्त समितिमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूको सहभागिता रहेको थियो। समितिले गत वैशाख ८ गते नियमावलीको मस्यौदा तयार गरी वैशाख २८ गते प्रतिनिधिसभामा पेश गरेको थियो। लामो छलफल, मतभेद र विवादका बीच अन्ततः नियमावली प्रतिनिधिसभाबाट पारित भएको हो।

प्रतिक्रिया
सम्बन्धित खबर