काठमाडौँ । देशका विभिन्न भूभागमा आज मौसम सामान्यदेखि आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका कारण हिमाली क्षेत्रमा यात्रा गर्ने, पर्वतारोहण तथा अन्य बाह्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।




