२४ जेष्ठ, काठमाडौं । एउटा व्यंग्यात्मक प्रतिक्रियाबाट जन्मिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अहिले भारतमा युवाहरूको असन्तुष्टि र प्रतिरोधको नयाँ प्रतीक बनेको छ। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ भनेर टिप्पणी गरेपछि त्यसको विरोधस्वरूप अमेरिकामा अध्ययनरत अभिजित दीपकेले मे १६ मा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सीजेपी अभियान सुरु गरेका थिए।
भारतीय जनता पार्टी (बीजेपी) सँग मिल्दोजुल्दो सुनिने नाम दिएर सुरु गरिएको यो अभियानले केही दिनमै अप्रत्याशित लोकप्रियता हासिल गर्यो। चार दिनभित्रै एक लाख ६० हजारभन्दा बढी सदस्य जोडिए भने इन्स्टाग्राममा २० लाखभन्दा बढी फलोअर्स पुगे। व्यंग्यका रूपमा सुरु भएको अभियान विस्तारै युवाहरूको संगठित प्रतिरोधमा परिणत भयो।

यसबीच भारतमा ‘नीट’ परीक्षाको प्रश्नपत्र चुहावट प्रकरण चर्किएपछि सीजेपीले सामाजिक सञ्जालबाट सडक आन्दोलनमा उत्रिने निर्णय गर्यो। केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संस्थापक अभिजित दीपके अमेरिका छोडेर भारत फर्किए र जुन ६ मा नयाँ दिल्लीको जन्तर–मन्तरमा प्रदर्शनको आह्वान गरे।
प्रदर्शनअघि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका थिए भने दीपकेको घरमा समेत निगरानी बढाइएको थियो। यद्यपि, आशंका गरिएजस्तो कुनै गिरफ्तारी भएन र प्रदर्शन शान्तिपूर्ण रूपमा अघि बढ्यो।
जन्तर–मन्तरमा देशका विभिन्न राज्यबाट आएका विद्यार्थी, अभिभावक, शिक्षक तथा नागरिकहरू भेला भएका थिए। धेरै प्रदर्शनकारीले कक्रोचको प्रतीकात्मक मास्क लगाएका थिए भने हातमा गुलाफका फूल बोकेका थिए। आन्दोलनमा सहभागीहरूको साझा माग शिक्षा प्रणालीमा पारदर्शिता, परीक्षा व्यवस्थामा सुधार तथा प्रश्नपत्र चुहावटजस्ता घटनाको अन्त्य थियो।
दीपकेले प्रदर्शनलाई सम्बोधन गर्दै सरकारमाथि युवाहरूको आवाज दबाउने प्रयास गरेको आरोप लगाए। उनले भने, “हाम्रा पोस्ट हटाउन सक्नुहुन्छ, तर युवाहरूको आवाज मेटाउन सक्नुहुन्न। यो देशका विद्यार्थीहरू बिकेका छैनन्।”
लद्दाखका शिक्षा तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आन्दोलनमा सहभागी भए। उनले शिक्षासम्बन्धी समस्याहरूलाई गम्भीरतापूर्वक समाधान गर्न सरकारलाई आग्रह गरे। प्रदर्शनलाई अभिनेता प्रकाश राज, युट्युबर ध्रुव राठी, शिवसेना प्रमुख उद्धव ठाकरे लगायत विभिन्न सार्वजनिक व्यक्तित्व तथा राजनीतिक नेताहरूले पनि समर्थन जनाए।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले परीक्षा सञ्चालनमा भएका त्रुटि, प्रश्नपत्र चुहावट र अवसरको असमानताबारे आफ्ना अनुभव सुनाए। ‘वी आस्क्ड फर मेक इन इन्डिया, यू गेभ अस लिक इन इन्डिया’ जस्ता प्लेकार्डहरूले युवाहरूको आक्रोश झल्काइरहेका थिए।

सीजेपीको आन्दोलन केवल शिक्षामन्त्रीको राजीनामाको मागमा सीमित देखिएन। प्रदर्शनमा उठेका नाराहरूले जातीय र धार्मिक विभाजनको राजनीतिप्रति पनि असन्तुष्टि व्यक्त गरे। ‘हिन्दू–मुस्लिम राजनीति बन्द गर’ जस्ता नाराले युवापुस्ता रोजगारी, शिक्षा र भविष्यजस्ता वास्तविक मुद्दामा केन्द्रित राजनीति चाहिरहेको सन्देश दिएका थिए।
भारतमा पछिल्ला वर्षहरूमा हजारौँ सरकारी विद्यालय बन्द हुनु, निजी विद्यालयको शुल्क निरन्तर बढ्नु तथा विभिन्न प्रतियोगी परीक्षाहरूमा प्रश्नपत्र चुहावटका घटना दोहोरिनुले युवाहरूमा निराशा बढाएको छ। यही असन्तुष्टिलाई सीजेपीले संगठित आवाज दिने प्रयास गरिरहेको देखिन्छ।
जन्तर–मन्तरमा भएको प्रदर्शन अधिकांश समय शान्तिपूर्ण रह्यो। केही समय दुई समूहबीच तनावको स्थिति सिर्जना भए पनि प्रहरीले हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएको थियो। सम्भावित विवाद रोक्न केही व्यक्तिलाई नियन्त्रणमा लिएपछि प्रदर्शन पुनः शान्तिपूर्ण रूपमा अघि बढ्यो।
सामाजिक सञ्जालमा सुरु भएको एउटा व्यंग्यात्मक अभियान अहिले भारतीय युवाहरूको असन्तुष्टि, शिक्षा सुधारको माग र भविष्यप्रतिको चिन्तालाई अभिव्यक्त गर्ने शक्तिशाली आन्दोलनका रूपमा विकसित हुँदै गएको छ।




