फिलिपिन्समा शक्तिशाली भूकम्प : ३५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते

२६ जेठ, काठमाडौं। फिलिपिन्सको दक्षिणी मिन्डानाओ क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण भवनहरू भत्किनु, पहिरो जानु तथा तटीय क्षेत्रमा सुनामीका छाल आउनुले ठूलो जनधनको क्षति भएको छ।

अधिकांश मृत्यु भवन भत्किँदा तथा भग्नावशेषमा पुरिँदा भएको जनाइएको छ। साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पपछि गएको पहिरोमा १३ जनाको ज्यान गएको छ भने अन्य क्षेत्रमा पनि मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्।

भूकम्पका कारण दक्षिणी फिलिपिन्सका विभिन्न सहर र जिल्लामा मस्जिद, विद्यालय, व्यावसायिक भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। केही भवन आंशिक रूपमा भत्किएका छन् भने विद्युत् तथा यातायात सेवा समेत प्रभावित भएका छन्।

भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ टापुनजिक समुद्रमा रहेको र यसको गहिराइ करिब ३३ किलोमिटर रहेको बताइएको छ। फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार यो सन् २०२६ मा देशमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

सबैभन्दा बढी क्षति जनरल सान्तोस सहरमा भएको छ। यहाँका धेरै भवनहरू भत्किएका छन् भने केही मानिस अझै बेपत्ता रहेका कारण खोज तथा उद्धार कार्य जारी छ। सुपरमार्केट, गोदाम तथा अन्य भवनहरूमा मानिस फसेको आशंकामा सुरक्षाकर्मी परिचालित छन्।

भूकम्पपछि करिब एक मिटर उचाइसम्मका सुनामीका छाल नजिकका तटीय क्षेत्रमा पुगेका थिए। प्रारम्भमा सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि जोखिम कम भएको भन्दै चेतावनी फिर्ता लिइएको थियो।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। अमेरिका, जापान, फ्रान्स तथा न्युजिल्यान्डलगायतका देशहरूले आवश्यक सहयोग गर्न तयार रहेको जनाएका छन्।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने फिलिपिन्समा बारम्बार भूकम्प र ज्वालामुखी गतिविधि हुने भएकाले यो विश्वकै प्राकृतिक विपद्को उच्च जोखिममा रहेका मुलुकहरूमध्ये एक मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खबर