अमेरिकीद्वारा इरानमाथि सैन्य आक्रमण, हेलिकोप्टर खसालेको आरोपपछि प्रतिकार

अमेरिकाले आफ्नो सैनिक हेलिकोप्टर खसालिएको आरोप लगाउँदै इरानमाथि सैन्य आक्रमण गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी हेलिकोप्टरमाथि आक्रमण गरी खसालेको आरोप लगाएपछि अमेरिकी सेनाले मंगलबार साँझ इरानका विभिन्न क्षेत्रमा आक्रमण सुरु गरेको हो।

अमेरिकी केन्द्रीय सैनिक कमान्डले जारी गरेको वक्तव्यमा उक्त कारबाहीलाई “इरानी आक्रामकताविरुद्धको समानुपातिक प्रतिकार” भनेर उल्लेख गरेको छ। आक्रमणपछि फारसको खाडी र होर्मुज जलडमरूमध्य आसपासका तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताइएको छ।

खसालिएको अमेरिकी अपाचे हेलिकोप्टरका दुई चालकलाई अमेरिकी समुद्री मानवरहित जलयानमार्फत उद्धार गरिएको सैनिक कमान्डले जनाएको छ। यस्तो प्रकारको जलयान उद्धार कार्यमा प्रयोग गरिएको जानकारी अमेरिकी सेनाले पहिलोपटक सार्वजनिक गरेको हो।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत हेलिकोप्टरका दुवै चालक सुरक्षित र सकुशल रहेको जानकारी दिँदै अमेरिकी पक्षले उक्त घटनाको जवाफ दिन बाध्य भएको बताएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले मानवरहित उड्ने यन्त्र प्रयोग गरी हेलिकोप्टरमाथि आक्रमण गरेको थियो। यद्यपि उक्त आक्रमण जानाजानी गरिएको हो वा होइन भन्ने विषय अझै स्पष्ट नभएको जनाइएको छ।

इरानी सञ्चारमाध्यमहरूले घटनाबारे समाचार प्रकाशित गरे पनि हेलिकोप्टर खसाल्ने जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार नगरेको उल्लेख गरेका छन्।

घटनापछि अमेरिकी सेनाले इरानभित्रका प्रतिरक्षा तथा राडार प्रणालीलाई लक्षित गर्दै थप आक्रमण गरेको बताइएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केश्म तथा सिरिकलगायत फारसको खाडी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए।

अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले नयाँ सैन्य कारबाही हेलिकोप्टरमाथिको आक्रमणको प्रत्यक्ष जवाफ भएको बताएका छन्। उनका अनुसार अमेरिकाले बलियो र प्रभावकारी प्रतिक्रिया दिन आवश्यक ठानेर उक्त कदम चालेको हो।

यसैबीच, अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही गर्ने निर्णय लिँदा आफू उपस्थित रहेको बताएका छन्। उनले यस्तो कदम आवश्यक बन्न पुगेकोमा दुःख व्यक्त गर्दै अमेरिकी हितको रक्षा गर्न आवश्यक कार्य गर्नुपर्ने बताएका छन्।

उता, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै इरानले कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिन बाँकी नराख्ने बताएका छन्। उनले अमेरिकाले युद्धभूमिमा पराजय भोगिसकेपछि पनि इरानको दृढता परीक्षण गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

(समाचार स्रोत: बीबीसी)

प्रतिक्रिया
सम्बन्धित खबर