काठमाडौं । अमेरिकाले हर्मुज जलडमरूमध्य आसपासका इरानी सैन्य संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको प्रतिकारस्वरूप बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा ‘फिफ्थ फ्लिट’ सहित विभिन्न अमेरिकी सैन्य केन्द्रहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले बहराइनस्थित अमेरिकी नौसेनाको प्रमुख कमान्ड सेन्टर ‘फिफ्थ फ्लिट’, जोर्डनका सैन्य अड्डालगायत अमेरिकी उपस्थितिका विभिन्न स्थानहरूमा कुल २१ पटक ड्रोन आक्रमण गरेको जनाएको छ। अमेरिकी अखबार द न्यूयोर्क टाइम्स ले इरानको उक्त दाबीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ।
फिफ्थ फ्लिट अमेरिकी नौसेनाको मध्यपूर्व क्षेत्रको प्रमुख सञ्चालन केन्द्र हो, जहाँ करिब ९ हजार अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ।
यद्यपि, अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानको दाबीलाई अस्वीकार गर्दै कुनै सफल आक्रमण नभएको जनाएको छ। कतारी सञ्चारमाध्यम अल जजिरा का अनुसार सम्भावित ड्रोन खतरापछि फिफ्थ फ्लिटमा साइरन बजाइएको थियो भने हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारिएको थियो।
यसबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले थप आक्रमण गरे त्यसको जवाफ अझ शक्तिशाली ढंगले दिइने चेतावनी दिएको छ। हालसम्म इरानको आक्रमणबाट कुनै भौतिक क्षति भएको पुष्टि भएको छैन।
यसअघि मंगलबार अमेरिकाले इरानका केश्म टापु, बन्दर अब्बास, जास्क क्षेत्र तथा सिरिक बन्दरगाह आसपासका हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई लक्षित गरी कम्तीमा तीन चरणमा हवाई हमला गरेको थियो। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियोस का अनुसार ती आक्रमणहरू हर्मुज जलमार्गको प्रवेशद्वार नजिक केन्द्रित थिए।
बुधबार बिहान सेन्टकमले उक्त कारबाहीलाई “आत्मरक्षाका लागि गरिएको सीमित सैन्य प्रतिक्रिया” भन्दै तत्कालका लागि अभियान समाप्त भएको घोषणा गरेको जनाएको छ।
तनावको सुरुआत मंगलबार अमेरिकी सेनाको एउटा अपाचे हेलिकप्टर हर्मुज नजिक दुर्घटनाग्रस्त भएपछि भएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार इरानी ड्रोनको प्रहारपछि हेलिकप्टर ओमानको तटीय क्षेत्रमा खसेको थियो। हेलिकप्टरमा रहेका दुवै चालक दलका सदस्यलाई अमेरिकी उद्धार टोलीले सुरक्षित रूपमा उद्धार गरेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
अमेरिका र इरानबीच पुनः सैन्य टकराव बढ्दै जाँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलडमरूमध्यमार्फत हुने कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा समेत असर पर्न थालेको छ, जसले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ।
(समाचार सार : अल जजीरा)




