प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफलदेखि विनियोजन विधेयक प्रस्तुतिसम्मका कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने प्रमुख कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम रहेको छ। साथै, अर्थसम्बन्धी विधेयक निर्धारित अवधिभित्र राष्ट्रिय सभाबाट फिर्ता नआएको जानकारी गराइने कार्यसूची पनि समावेश गरिएको छ।

यसैगरी, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी जानकारी गराउने तथा अन्य विधेयकीय प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यी विधेयकहरू आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग प्रत्यक्ष रूपमा सम्बन्धित मानिन्छन्।

तर, प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरोध गरिरहेका छन्। यही कारण आजको बैठकले निर्धारित कार्यसूचीमा प्रवेश गर्न सक्ने वा पुनः अवरुद्ध हुने भन्ने विषय अनिश्चित रहेको छ।

संसद्को गत केही बैठक पनि प्रतिपक्षीको अवरोधका कारण प्रभावकारी रूपमा सञ्चालन हुन सकेका थिएनन्। आजको बैठकले राजनीतिक गतिरोध अन्त्य गरी बजेटसम्बन्धी छलफल अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर