प्रतीक्षाको घडी अन्ततः समाप्त भएको छ। आज मध्यराति नेपाली समयअनुसार १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२६ को औपचारिक सुरुआत हुँदैछ।
४८ राष्ट्र, १०४ खेल र ३९ दिनसम्म चल्ने रोमाञ्चक प्रतिस्पर्धापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। यस संस्करणले विश्वकप इतिहासमा नयाँ अध्याय पनि थपेको छ, किनभने पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ टोलीमा सीमित रहेको प्रतियोगितामा अब थप १६ राष्ट्रले विश्व फुटबलको सर्वोच्च मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिता १६ शहरमा सञ्चालन हुनेछ। तीमध्ये ११ शहर अमेरिकाका, तीन मेक्सिकोका र दुई क्यानडाका छन्। जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसँगै प्रतियोगिताको समापन हुनेछ। च्याम्पियन बन्ने टोलीले कुल आठ खेल खेल्नुपर्नेछ।
अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। त्यतिबेला प्रतियोगितामा २४ टोली र ५२ खेल मात्र थिए। यसपटक टोली र खेल संख्या दुवै दोब्बरले वृद्धि भएका छन्।
नेपालमा कहिले र कहाँ हेर्ने?
नेपाल र आयोजक राष्ट्रहरूबीचको समय अन्तरका कारण अधिकांश खेल राति तथा बिहान सबेरै हुनेछन्। खेलहरू नेपाली समयअनुसार राति १२:४५, १:००, २:०० बजेदेखि बिहान ४:४५, ५:४५ र ७:४५ बजेसम्म सञ्चालन हुनेछन्।
नेपालमा विश्वकपका सबै खेल हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। दर्शकहरूले निश्चित शुल्क तिरेर प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
तीन देशमा भव्य उद्घाटन समारोह
यसपटकको उद्घाटन समारोह पनि विशेष रहनेछ। पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित नरही तीनवटै आयोजक राष्ट्रमा आयोजना हुँदैछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने समारोहमार्फत सम्बन्धित देशहरूले आफ्नो संस्कृति, इतिहास र पहिचान विश्वसामु प्रस्तुत गर्नेछन्।
मेक्सिको सिटीमा हुने मुख्य समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन र टाइला लगायत अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन्। त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुनेछ।
आयोजक राष्ट्रहरूको आशा
घरेलु समर्थकको ठूलो अपेक्षाबीच अमेरिका, मेक्सिको र क्यानडा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छन्। क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन् भने मेक्सिको प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा पुनः लयमा फर्किने प्रयासमा छ।
अमेरिकाले पनि माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ ऊर्जा प्राप्त गरेको छ। हालैका अन्तर्राष्ट्रिय खेलहरूमा देखाएको प्रदर्शनले अमेरिकी समर्थकहरूलाई उत्साहित बनाएको छ।
मेसी र रोनाल्डोमाथि विशेष नजर
अर्जेन्टिनाका कप्तान लियोनल मेसीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्छ। उनी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन्। सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन।
उता ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि पोर्चुगलको टोलीमा छन्। विश्वकप उपाधि उनको शानदार करिअरको अझै अपूरो सपना बनेको छ। बलियो टोलीका कारण पोर्चुगललाई उपाधिको प्रमुख दाबेदार मानिएको छ।
फ्रान्सका किलियन एमबाप्पे, इङ्ल्यान्डका ह्यारी केन, स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा तथा अनुभवी नेयमार प्रतियोगिताका अन्य मुख्य आकर्षण रहनेछन्।
मौसम बन्न सक्छ ठूलो चुनौती
उत्तर अमेरिकाको गर्मी यस विश्वकपको अर्को महत्वपूर्ण विषय बनेको छ। अमेरिका र मेक्सिकोका केही शहरमा उच्च तापक्रम रहने अनुमान गरिएको छ। त्यसैले खेलका प्रत्येक हाफमा ‘कुलिङ ब्रेक’को व्यवस्था गरिएको छ, जसले खेलाडीलाई विश्राम र प्रशिक्षकलाई रणनीतिक छलफल गर्ने अवसर दिनेछ।
डार्क हर्स टोलीहरूबाट सावधान
विश्वकप केवल ठूला राष्ट्रहरूको प्रतिस्पर्धा मात्र होइन, अप्रत्याशित नतिजाको कथा पनि हो। यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगललाई सम्भावित ‘डार्क हर्स’ टोलीका रूपमा हेरिएको छ।
एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कटल्यान्ड तथा मोरक्कोजस्ता टोलीहरूले बलिया राष्ट्रहरूलाई चुनौती दिन सक्ने क्षमता राख्छन्। साथै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डेले पनि विश्व फुटबलमा नयाँ इतिहास रच्ने सपना बोकेर मैदान उत्रिनेछन्।
विश्वकप २०२६ केवल एउटा प्रतियोगिता मात्र होइन, विश्व फुटबलको नयाँ युगको सुरुआत पनि हो। अब आगामी ३९ दिन विश्वभरका करोडौं समर्थकहरूको नजर उत्तर अमेरिकातर्फ केन्द्रित रहनेछ।




