काठमाडौं, जेठ २८ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन्।
बैठकमा अर्थमन्त्री वाग्लेले “विनियोजन विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने तथा उक्त विधेयक संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ। साथै “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सो विधेयक पनि सभामा पेश गरिनेछ।
त्यसैगरी “नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्रीले सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा जारी छलफल आज पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ।




