वासिङ्टन । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न सैन्य ठेगानामाथि शक्तिशाली हवाई आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ। अमेरिकी कारबाहीको जवाफस्वरूप इरानले विश्वकै महत्वपूर्ण व्यापारिक समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शान्ति सम्झौताका लागि ‘धेरै ढिलो भइसकेको’ टिप्पणी गर्दै थप कडा सैन्य कारबाहीको चेतावनी दिएपछि दुई देशबीचको तनाव नयाँ चरणमा प्रवेश गरेको हो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानका निरन्तर आक्रामक गतिविधिको प्रतिकारस्वरूप आत्मरक्षाका लागि नयाँ हवाई हमला गरिएको हो।
अमेरिकी रक्षा मन्त्रालयले इरानी सैन्य संरचना तथा क्षमतामाथि दबाब सिर्जना गर्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ। हमलापछि इरानको सरकारी सञ्चारमाध्यम तथा इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज क्षेत्रमा दुईवटा जहाजमाथि सफलतापूर्वक प्रहार गरिएको दाबी गरेका छन्।
इरानी सेनाले उक्त जलमार्ग अब सबै प्रकारका जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले भने व्यावसायिक जहाजहरूको आवतजावत अझै जारी रहेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरान तथा फारसको खाडी क्षेत्रका रणनीतिक महत्वका क्युशम टापु, बन्दर अब्बास र सिरिक लगायतका स्थानमा ठूला विस्फोटका आवाज सुनिएका छन्। ती क्षेत्रमा सैन्य गतिविधि तीव्र बनेको बताइएको छ।
विश्लेषकहरूका अनुसार पछिल्लो सैन्य टकरावले गत अप्रिलमा भएको नाजुक युद्धविरामलाई प्रभावहीन बनाएको संकेत दिएको छ। विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा उत्पन्न परिस्थितिले विश्व बजारमा समेत असर पार्न सक्ने चिन्ता बढेको छ।
अमेरिका र इरानबीचको बढ्दो तनावले मध्यपूर्व क्षेत्रलाई थप अस्थिर बनाउने तथा अन्तर्राष्ट्रिय समुदायका लागि नयाँ सुरक्षा चुनौती खडा गर्ने आकलन गरिएको छ।




