काठमाडौँ । अमेरिका र इरानबीचको सैन्य तनाव थप गहिरिँदै जाँदा खाडी क्षेत्रमा युद्धको जोखिम बढेको छ। अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै व्यापक ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी कारबाहीको केही समयमै इरानी सेनाले प्रतिआक्रमण सुरु गरेको हो। इरानले बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ बेडोसँग सम्बन्धित सैन्य संरचनाहरूलाई निशाना बनाएको जनाएको छ।
इरानी सेनाको दाबीअनुसार ड्रोन आक्रमणमार्फत ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’सँग सम्बन्धित सञ्चार एन्टेना तथा राडार प्रणालीलाई लक्ष्य बनाइएको थियो। साथै बहराइनको एक विमानस्थल र कुवेतमा रहेका दुई अमेरिकी सैन्य ठेगानासहित खाडी क्षेत्रका १८ महत्वपूर्ण स्थानमा हमला गरिएको पनि इरानले जनाएको छ।
आक्रमणको दाबी सार्वजनिक भएसँगै बहराइन सरकारले देशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत नागरिक तथा विदेशी बासिन्दाहरूलाई शान्त रहन र आवश्यक परे नजिकको सुरक्षित स्थानमा जान निर्देशन दिएको छ।
इरानको सरकारी समाचार एजेन्सीले शक्तिशाली सैन्य संगठन ‘रिभोलुसनरी गार्ड्स’लाई उद्धृत गर्दै अमेरिकी सैन्य गतिविधिको जवाफस्वरूप उक्त कारबाही गरिएको जनाएको छ। इरानले आफ्नो सुरक्षा र सार्वभौमिकतामाथि भएको आक्रमणको प्रतिकार जारी रहने चेतावनीसमेत दिएको छ।
यसअघि अमेरिकाले इरानभित्रका विभिन्न रणनीतिक तथा सैन्य ठेगानामाथि शृङ्खलाबद्ध हवाई आक्रमण गरेको थियो। त्यसको प्रतिक्रियास्वरूप इरानले आफू कुनै पनि दबाबमा नझुक्ने र आवश्यक परे थप कडा जवाफ दिने अडान दोहोर्याएको छ।
पछिल्लो घटनाक्रमले मध्यपूर्वमा तनावलाई थप बढाएको छ भने क्षेत्रीय सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढ्दै गएको छ।




