विश्वकप–२०२६ भव्य उद्घाटनसँगै सुरु, मेक्सिकोको विजयी यात्रा

काठमाडौँ । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ भव्य उद्घाटन समारोहसँगै सुरु भएको छ। सह–आयोजक राष्ट्र मेक्सिको ले आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

गएराति मेक्सिको सिटीस्थित स्टेडियममा आयोजित उद्घाटन समारोह रंगीन र उत्साहपूर्ण बनेको थियो। विश्वभरका लाखौँ दर्शकको ध्यान आकर्षित गरेको समारोहमा चर्चित अन्तर्राष्ट्रिय कलाकार शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन तथा अन्य कलाकारहरूले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए।

 

 

उद्घाटन समारोहपछि भएको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्यो। खेल प्रतिस्पर्धात्मक भए पनि अनुशासनको अभाव देखिएको थियो। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोलेथेम्बा ज्वाने रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेस ले पनि रातो कार्ड पाए।

यसैबीच, सह–आयोजक राष्ट्र अमेरिका मा जुन १२ देखि विश्वकपका खेलहरू सुरु हुनेछन्। लस एन्जलसमा आयोजना हुने उद्घाटन समारोहमा अमेरिकी सांस्कृतिक विविधता र मनोरञ्जन उद्योगको झल्को प्रस्तुत गरिने जनाइएको छ। उद्घाटन समारोहपछि आयोजक अमेरिकाले पाराग्वे विरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।

त्यस्तै, क्यानडा ले पनि जुन १२ मै टोरन्टोमा विशेष उद्घाटन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। पहिलो पटक विश्वकप आयोजना गरिरहेको क्यानडाले आफ्नो राष्ट्रिय पहिचान, संस्कृति र विविधतालाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

यस संस्करणको विश्वकप मेक्सिको, अमेरिका र क्यानडा ले संयुक्त रूपमा आयोजना गरेका हुन्। मेक्सिको र अमेरिकाले यसअघि पनि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानडाका लागि यो पहिलो अनुभव हो। विश्वभरका फुटबल समर्थकहरू आगामी एक महिनासम्म विश्वकपको रोमाञ्चक प्रतिस्पर्धामा रमाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर