वाशिङ्टन डीसी । लामो समयदेखि जारी अमेरिका र इरानबीचको सैन्य तनाव अन्त्य गर्ने उद्देश्यसहित महत्वपूर्ण सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। सम्भावित सम्झौतासँगै विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने संकेत देखिएको छ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनसँगको कुराकानीमा अमेरिकासँग भइरहेको वार्तामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध तथा नाकाबन्दी हटाउने विषय समावेश रहेको जानकारी दिएका छन्। उनका अनुसार हर्मुज जलमार्ग खुला गर्ने र दुवै देशबीचको सैन्य तनाव कम गर्ने विषयमा सहमति नजिक पुगे पनि इरानको आणविक कार्यक्रमसम्बन्धी छलफल भने आगामी चरणमा गरिनेछ।
अमेरिकी अधिकारीहरूले पनि वार्ताका केही पक्षहरूको पुष्टि गर्दै इरानले आफ्नो प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गरेपछि मात्र आर्थिक सहुलियत तथा प्रतिबन्ध हटाउने प्रक्रिया अघि बढ्ने बताएका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि क्षेत्रीय तनाव चर्किएको थियो। त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो।
तनाव उत्कर्षमा पुगेपछि इरानले विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग बन्द गरेको थियो। उक्त कदमले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक प्रभाव पारेको थियो भने कच्चा तेलको मूल्यमा समेत उतारचढाव देखिएको थियो।
हाल जारी वार्ता सफल भएमा मध्यपूर्वमा बढ्दो तनाव कम हुनुका साथै विश्व ऊर्जा आपूर्ति प्रणालीमा स्थिरता आउने अपेक्षा गरिएको छ।




