काठमाडौं, १ असार — लामो समयदेखि जारी सैन्य तनाव अन्त्य गर्ने दिशामा संयुक्त राज्य अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता टुंगोमा पुगेको छ। दुवै देशका अधिकारीहरूले युद्ध अन्त्य, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने तथा रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने विषयमा सहमति भएको बताएका छन्।
यस सम्झौतामा आगामी जुन १९ (शुक्रबार) स्वीट्जरल्यान्डमा विशेष समारोहबीच औपचारिक हस्ताक्षर गरिने जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो देशको मध्यस्थतामा अमेरिका र इरान शान्ति प्रक्रियामा सहमत भएको जानकारी दिएका हुन्।
प्रधानमन्त्री शरीफका अनुसार दुवै पक्षले लेबनानसहित सबै मोर्चामा जारी सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा अमेरिका र इरानबीचको शान्ति सम्झौता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन्।
उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सम्झौताको पुष्टि गर्दै लेबनानसहित सबै क्षेत्रमा युद्धविराम लागू हुने तथा इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाइने जनाएको छ। परिषद्को वक्तव्यमा आज रातिदेखि सबै सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने उल्लेख गरिएको छ।
पाकिस्तानले यस शान्ति प्रक्रियामा सहयोग पुर्याएको भन्दै कतार, साउदी अरेबिया र टर्कीका नेतृत्वप्रति पनि आभार व्यक्त गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता सम्पन्न भएको जानकारी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौता सफलतापूर्वक निष्कर्षमा पुगेको बताएका छन्।
सम्झौतापछि मध्यस्थकर्ताहरूले कार्यान्वयनका लागि विभिन्न चरणका प्राविधिक तथा कूटनीतिक बैठकहरू आयोजना गर्ने जनाइएको छ। यी बैठकहरूले औपचारिक हस्ताक्षर र सम्झौता कार्यान्वयनको आधार तयार गर्नेछन्।
विशेषज्ञहरूका अनुसार शान्ति सम्झौतासँगै विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने हर्मुजको जलडमरू पुनः पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेल तथा इन्धन आपूर्तिलाई सहज बनाउँदै मूल्यमा समेत राहत ल्याउन सक्ने विश्वास गरिएको छ।
गत फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही थालेपछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको थियो। त्यसयता तेल आपूर्ति प्रभावित हुँदा विश्व बजारमा इन्धनको मूल्य उल्लेखनीय रूपमा बढेको थियो।




