काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल जारी रहने कार्यसूची रहेको छ।
आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।
बैठकमा विभिन्न सांसदहरूले सम्बन्धित मन्त्रालयहरूको विनियोजित बजेट घटाउन खर्च कटौती प्रस्ताव पनि पेश गर्ने कार्यक्रम छ। सांसदहरू गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विष्णुमाया विक, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, सांसद मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालय तथा परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकममा कटौती गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ।
बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।




