काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिनेछन्।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।
चालु आर्थिक वर्षको बजेटमाथि भइरहेको विस्तृत छलफललाई निष्कर्षमा पुर्याउने क्रममा आजको बैठक महत्वपूर्ण मानिएको छ। बजेटका विभिन्न पक्षबारे सांसदहरूले व्यक्त गरेका चासो, सुझाव र प्रश्नमाथि सरकारका तर्फबाट औपचारिक जवाफ प्रस्तुत गरिनेछ।




