काठमाडौं, असार ४ — अमेरिका र इरानले लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्न भएको अन्तरिम शान्ति सम्झौताको प्रारम्भिक पाठ सार्वजनिक गरेका छन्। दुवै देशका राष्ट्रपतिबीच डिजिटल हस्ताक्षर भइसकेको बताइएको छ भने औपचारिक हस्ताक्षर शुक्रबार स्वीट्जरल्यान्डमा हुने तयारी छ।
सम्झौतामा युद्ध अन्त्य, आर्थिक प्रतिबन्ध फुकुवा तथा क्षेत्रीय स्थायित्वका विषयलाई प्राथमिकता दिइएको छ। रोयटर्सका अनुसार सम्झौताका मुख्य बुँदामा सबै मोर्चामा तत्काल युद्धविराम, हर्मुज जलडमरूमध्यमा निर्बाध समुद्री आवतजावत, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने, प्रतिबन्ध फुकुवा गर्ने, इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब डलरको योजना लागू गर्ने तथा इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता पुनः दोहोर्याउने विषय समेटिएका छन्।
यो सहमतिसँगै गत अप्रिलमा घोषणा गरिएको युद्धविराम थप ६० दिनका लागि विस्तार गरिएको छ। यस अवधिमा स्थायी शान्ति सम्झौताका लागि थप वार्ता हुने जनाइएको छ।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको कुनै पनि बुँदा उल्लंघन गरे पुनः कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। जी–७ शिखर सम्मेलनका क्रममा उनले इरानले प्रतिबद्धता पूरा नगरे “भयानक बमबारी” गर्न सकिने बताएका छन्।
युद्धको सुरुवातमा इरानको ब्यालिस्टिक मिसाइल क्षमता समाप्त गर्ने अडान लिएका ट्रम्पले अहिले भने त्यो धारणा नरम बनाएका छन्। विश्लेषकहरूका अनुसार युद्ध सुरु हुँदा राखिएका धेरै उद्देश्य पूरा हुन नसकेको अवस्थामा इरान प्रतिबन्धबाट राहत पाउने स्थितितर्फ अघि बढेको देखिएको छ।
सम्झौतापछि विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको छ। हर्मुज जलडमरूमध्य खुल्ने अपेक्षासँगै कच्चा तेलको मूल्य घटेको छ। यद्यपि ट्रम्पको पछिल्लो चेतावनीपछि तेलको मूल्यमा पुनः सामान्य वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




