काठमाडौं, असार ४ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। दोस्रो अधिवेशनको २६औँ बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमाथि उठेका जिज्ञासाको मन्त्रीहरूले स्पष्टीकरण दिनेछन्।
त्यसैगरी विभिन्न मन्त्रालय र निकायका बजेट शीर्षकमा सांसदहरूले दर्ता गरेका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। यस क्रममा विभिन्न दलका २० जना सांसदले आफ्ना प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकको अर्को महत्वपूर्ण कार्यसूचीअन्तर्गत विनियोजन विधेयक, २०८३ अन्तर्गत रहेका दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ पारित गरियोस्” भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।
सरकारको आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिने प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा हेरिएको आजको बैठकबाट विनियोजन विधेयक पारित हुने अपेक्षा गरिएको छ। यससँगै आगामी आर्थिक वर्षका लागि सरकारको खर्च व्यवस्थापनको संवैधानिक प्रक्रिया थप अघि बढ्नेछ।




