स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति सम्झौता समारोह स्थगित, वार्ता प्राविधिक चरणमा प्रवेश

काठमाडौं, ५ असार । अमेरिका र इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित गरिएको छ। स्विट्जरल्यान्डमा शुक्रबार आयोजना हुने तय भएको उक्त समारोह अब अनिश्चितकालका लागि रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन–न्युज १८ का अनुसार समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्विट्जरल्यान्ड नजाने भएका छन्। कूटनीतिक स्रोतहरूको हवाला दिँदै सञ्चारमाध्यमले अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका विस्तृत वार्तातर्फ केन्द्रित भएको जनाएको छ।

हाल अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू स्विट्जरल्यान्डका ब्युर्गेनस्टक र ज्युरिख क्षेत्रमा रहेर वार्ताको नयाँ ढाँचा तय गर्न सक्रिय रहेका छन्। स्रोतहरूका अनुसार सम्झौताका केही जटिल तथा प्राविधिक विषयमा अझै सहमति जुटाउन बाँकी रहेकाले आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन गरिनेछ।

यी वार्तामार्फत सम्झौताका बाँकी रहेका सूक्ष्म तथा संवेदनशील विषयहरू टुंग्याउने प्रयास गरिने बताइएको छ। औपचारिक समारोह स्थगित भए पनि दुवै पक्षबीचको संवाद प्रक्रिया भने निरन्तर जारी रहने जनाइएको छ।

सम्झौतासम्बन्धी कार्यक्रम तालिकामा आएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको कूटनीतिक कार्यक्रमलाई समेत प्रभावित पारेको छ। पाकिस्तानका प्रधानमन्त्रीशेहबाज शरीफले स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्।

समाचारअनुसार समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डाहरूमा पर्याप्त प्रगति भइसकेको र तत्काल उच्चस्तरीय भ्रमण आवश्यक नरहेको निष्कर्षपछि शरिफको भ्रमण स्थगित गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खबर