७ असार, काठमाडौं । फिफा विश्वकप इतिहासको १०००औँ खेलमा एसियाली शक्ति राष्ट्र जापान ले प्रभावशाली प्रदर्शन गर्दै ट्युनिसिया माथि ४–० को फराकिलो जित दर्ता गरेको छ।
मेक्सिकोको मोन्टेरे मा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थप्दै टोलीलाई सहज जित दिलाए।
यो जितसँगै जापानले नकआउट चरणमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। दुई खेलबाट जापानको चार अंक पुगेको छ, जुन समूहको अर्को बलियो टोली नेदरल्यान्ड्स को बराबरी हो।
जापानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको थियो। दोस्रो खेलमा उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै ट्युनिसियालाई गोलरहित बनाएको जापान समूह चरण पार गर्ने प्रमुख दाबेदारका रूपमा उभिएको छ।
यता लगातार दोस्रो हार बेहोरेको ट्युनिसियाको नकआउट चरण पुग्ने आशा लगभग समाप्त भएको छ। जापानविरुद्धको हारसँगै टोली प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको छ।
विश्वकपको ऐतिहासिक खेलमा प्राप्त यस शानदार जितले जापानी फुटबलको बढ्दो प्रभाव र क्षमता पुनः प्रमाणित गरेको छ।




