दोहा । कतारको रास लाफान औद्योगिक नगरस्थित एक ग्यास प्रशोधन केन्द्रमा भएको भीषण विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेको पुष्टि भएको छ।
कतारका अधिकारीहरूका अनुसार रास लाफान औद्योगिक क्षेत्रमा अचानक भएको विस्फोटपछि ठूलो आगलागी भएको थियो। घटनालगत्तै आपत्कालीन उद्धार तथा अग्निनियन्त्रण टोली परिचालन गरिएको र छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ।
कतारको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ५४ जना घाइते भएको तथा बेपत्ता १८ जनाको खोजी कार्य तीव्र रूपमा जारी रहेको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट विस्फोट प्राविधिक गडबडीका कारण भएको देखिएको छ।
अधिकारीहरूले घटनापछि सर्वसाधारणको सुरक्षामा कुनै खतरा नपर्ने गरी आवश्यक सतर्कता अपनाइएको र ग्यास चुहावटको कुनै संकेत नदेखिएको स्पष्ट पारेका छन्।
गृह मन्त्रालयले कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह र नागरिक सुरक्षा टोलीले संयुक्त रूपमा बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ।
विस्फोटबाट ग्यास केन्द्रमा पुगेको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। यसबीच, स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको शक्तिशाली आवाज राजधानी दोहासम्म सुनिएको थियो, जसले आसपासका क्षेत्रमा केही समय त्रासको अवस्था सिर्जना गरेको थियो।
घटनाबारे थप अनुसन्धान जारी रहेको र क्षतिको यथार्थ विवरण संकलनपछि सार्वजनिक गरिने कतारी अधिकारीहरूले बताएका छन्।
(स्रोत: द फेडरल न्यूज)




