रास्वपाको नेतृत्व चयनमा उत्साहजनक प्रतिस्पर्धा, केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी उम्मेदवार मैदानमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। ९९ सदस्यीय केन्द्रीय समितिका लागि ४०० भन्दा बढी प्रतिनिधिले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन निकै रोचक बन्ने देखिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया रातिसम्म जारी रहेकाले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ।

यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिनेछ। पार्टी विधानअनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न हुनेछ भने त्यसपछि उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीलगायत पदाधिकारीको चयन गरिने व्यवस्था रहेको छ।

निर्वाचन प्रक्रियालाई आधुनिक र सहज बनाउन विद्युतीय मतदान प्रणाली अपनाइने भएको छ। स्वदेश तथा विदेशमा रहेका प्रतिनिधिहरूले विद्युतीय माध्यममार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। करिब चार हजार प्रतिनिधिले मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।

उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि आकांक्षीहरूको संख्या उल्लेख्य रहेकाले पदाधिकारी चयनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। पार्टीभित्रका वर्तमान पदाधिकारी, मन्त्री, सांसद तथा विभिन्न समूहका प्रभावशाली नेताहरू नेतृत्वको जिम्मेवारी सम्हाल्न दौडमा रहेका छन्।

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी दिशा, संगठन विस्तार र राजनीतिक रणनीति तय गर्ने भएकाले यसलाई पार्टीको इतिहासकै महत्वपूर्ण राजनीतिक अभ्यासका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर